
राजविराज / पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाबारे आफूलाई नसोध्न आग्रह गरेका छन् । तराई मधेसका जिल्लाहरुका भ्रमणमा रहेका पूर्वराजा शाहले आइतबार छिन्नमस्ता भगवतीको पूजापछि संचारकर्मीसँगको भेटघाटमा भने, यो कुरा मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस् । पत्रकारले उनलाई देशको पछिल्लो अवस्थालाई कसरी हेर्नु हुन्छ भन्ने जिज्ञासा राखेका थिए ।
राजसंस्था फर्किने संकेत देख्नुभएको छ भन्ने अर्को प्रश्नमा पूर्वराजा शाहले जनतालाई सोध्नुपर्ने जवाफ दिए । पूर्वराजा शाहले १५ मिनेटसम्म छिन्नमस्ता भगवती मन्दिरमा पन्चोपचार विधिद्वारा पूजा गरेको छिन्नमस्ता शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरले बताए ।
भारतीय सीमा क्षेत्रसित जोडिएको छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिरमा पुगेका शाहलाई गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलसहितका जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए । पूर्वराजाले छिन्नमस्ता मन्दिरकै धर्मशालामा पिठाधिस ठाकुर, गाउँपालिका अध्यक्ष मण्डललगायत सित केहीबेर कुराकानी गरेका थिए । मन्दिर पुग्नुअघि पूर्व राजालाई समर्थकहरुले राजविराजस्थित शिव मन्दिर अगाडि स्वागत गरेका थिए ।

