
काठमाडौं / महानगरले धुलो र प्रदुषण बाट बच्न अत्याधुनिक ब्रुमरको प्रयोग गर्ने भएको छ ।
पछिल्लो समय काठमाडौं महानगरमा धुलो र प्रदुषणको समस्या जटिल बन्दै गएको छ ।
महानगरबासीलाई प्रदुषण रहित वातावरणमा बसोबास गर्नका लागी अत्याधुनिक ब्रुमर लगाएर धुलो बढार्न लागेको महानगरले हाम्रो खबरपाटीलाई जानकारी दिए ।
इटालीबाट झिकाइएका यी अत्याधुनिक ब्रुमरले प्रतिघन्टा १० किलोमिटरका दरले सडक बढार्ने महानगरको दाबी छ । अहिले काठमाडौं महानगरमा १४ सय किलोमिटर सडक पर्छ ।
धुलो र प्रदुषण सधैँको सास्ती बनिरहेका बेला महानगरले यसै सातादेखि अत्याधुनिक ब्रुमर लगाएर धुलो बढार्ने जनाएको छ । बेलुका १० बजेदेखि विहान ६ बजेसम्म यी ब्रुमरले सडक सफा गर्नेछन् ।
त्यसो त यसअघि चीनले दिएका दुइवटा ब्रुमर पनि काठमाडौंको धुलो तान्न नसकेर महानगरमै थन्किएका छन् ।
सडकमा अस्तव्यस्त संरचना तथा ढुगांमिश्रति बाक्लो धुलो ब्रुमरले सफा पार्न सक्छ कि सक्दैन, त्यो संशयपूर्ण नै छ । तर, काठमाडौ महानगरपालिका भने हाल ल्याइएका ब्रुमर उच्च क्षमताका भएकाले काठमाडौंको ९० प्रतिशत सडक धुलोमुक्त हुने दाबी गर्छ ।
हाल भित्र्याइएका ब्रुमरमा साढे पाँच हजार लिटर पानी बराबरको धुलो सोहोर्न सक्ने क्षमता छ । तर, काठमाडौंका सडक ब्रुमरले बढार्न भने त्यति सजिलो छैन ।
सडकमा अव्यवस्थित तरिकाले बनाइने संरचना, जथाभावी फ्याँकिएका ढुंगा, गिटी, माटो, बालुवा र खाल्डाखुल्डीमा ब्रुमर चलाउन असहज मानिन्छ ।
त्यसमाथि पाँचवटा ब्रुमर महानगरका लागि पर्याप्त त छैन नै, ब्रुमर चलाउने नै हो भने पनि पहिला सडक संरचनामा सुधार ल्याउनुपर्ने विज्ञ बताउँछन् ।
