
युवराज आचार्य
झापा, बैशाख १२ । मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करण अन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर विजयी भएको छ ।काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको आयोजनामा सञ्चालन भएको गोल्डकपको औपचारीक उद्घाटन प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा क्यामरुनी क्लब दाउफिन्सलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले हराउँदै आयोजक विजयी भएको हो । प्रतियोगिता सुरु भएको छैटौं मिनेट र २० औं मिनेटमा दाउफिन्सका ओग्यन जुनियरले व्यक्तिगत दुई गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दुई शुन्यको नतिजा उल्टाउदै आयोजका नगेन तामाङ्ग ले २१ औ मिनेट र ३७ औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए ।
दोस्रो हापमा निकै आक्रमक देखिएको पाहुना टोली दाउफिन्सको थुप्रै प्रयासहरु आयोजकका गोल किपर किशोर गिरिले बिफल बनाई दिएका थिए । त्यस्तै होम ग्राउण्ड र स्थानिय दर्शकको भरपुर साथ पाएको आयोजका आक्रमक प्रहारहरु लाई दाउफिन्सका गोल रक्षक प्रिसोले बिफल बनाई दिएका थिए । खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टी सुट आउटमाआयोजकलाई विजयी बनाउन आयोजकका निरज बस्नेत, पुजन उपरकोटी, बिकास राई, निशान लिम्बुले गोल गरेका थिए । दाउफिन्सको तर्फबाट गोल किपर प्रिसो र विक विकले गोल गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने आयोजक मेची नेत्रालयका नगेन तामाङ्ग म्यान अफ दि म्याच घोषित भए । उनले नगद एघार हजार रुपैयाँ प्राप्त गरे ।
१० टिमको सहभागीता रहेको गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ । त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।
भोलीको खेल च्यासल युथ क्लब काठमाण्डौं र धरान फुटबल क्लब सुनसरी बिच हुनेछ ।

