झापा, जेष्ठ १९ । मेचीनगर वडा नम्बर ८ वडा कार्यालयको आयोजनामा महिलाहरुको पाठेघरको क्यान्सर सम्बन्धी जाच तथा प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मेचीनगर ८ स्थित आदर्श मावि परिसरमा आयोजना शनिबार भएको महिलाहरुको निःशुल्क स्वास्थ्य शिविरमा ८८ जना महिलाले स्वास्थ्य जाच गराएका थिए । साथै जाच गराएका महिलाहरुलाई निःशुल्क औषधि समेत बितरण गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिका स्वास्थ्य कार्यालयको प्राविधिक सहयोग रहेको शिविरमा मेचीनगर ८ वडा कार्यालयले आर्थिक ब्यवस्थापन गरेको थियो ।

मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र कुमार धिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । जनप्रतिनिधि वडा सदस्यहरु, नेकपाका मेचीनगर वडा नम्बर ८ अध्यक्ष कुन्दन निरौला, साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

