झापा, भाद्र २ । कचनकवल गाउँपालिका एक विद्यालय, एक संकायको निर्णयबाट पछि हटेका छ । अनेरास्ववियु, नेवि सङ्घ र अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले तालाबन्दीदेखि शैक्षिक हडतालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै गाउँपालिका आफ्नो निर्णय सच्याउँदै पछि हटेका हो ।
गाउँपालिकाका अध्यक्ष अञ्जार आलम सहित जनप्रतिनिधि, शिक्षक र संयुक्त विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु सहितको संयुक्त बैठक पछि विद्यार्थी संगठनको माग अनुरुप गाँउपालिकाले आफ्नो निर्णय सच्याएको हो ।
गाउँपालिकाले एक विद्यालय, एक संकायको विषयमा गत असार १७ गते गरेको निर्णयलाई सच्चाउँदै गाउँपालिकाभित्र कक्षा ११ र १२ पढाई हुने विद्यालयमा यथावत् सङ्कायहरू पढाउने विषयमा सहमति भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा कक्षा १२ सम्म सबै विद्यार्थी र छात्राहरूलाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त विद्यार्थी सङ्गठन लागि पर्ने अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले बताए ।

