स्वास्थ्य

मेचीपारिको ग्वाला बस्तीमा स्वास्थ्य शिविर सम्पन्न

झापा, भाद्र १८ । झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर–१५ स्थित ग्वाला वस्तीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेची पारिको ग्वाला बस्ती झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित छ । ठुल्ठुला रोग लाग्दा समयमै उपचार नपाउने यहाँका स्थानीयबासी सामान्य रोग लाग्दासम्म उनीहरुले भनेको औषधि खान पाउँदैनन् । निक्कै विकट र दुर्गम ठाउँका यी मानिसहरुले एउटा सिटामोलसम्म किन्नका लागि १२ किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्यता रहेको सोही वडाका वडा सदस्य वृखलाल राजवंशीको भनाइ छ ।
केही दिनअघि ३५ वटा घरपरिवार बसोबास रहेको सो क्षेत्रको पछिल्लो अवस्था बुझ्न मेचीनगर नगरपालिकाका तात्कालिन निमित्त नगरप्रमुख तथा वडा नम्बर–४ का वडाध्यक्ष नवीन बरालसहितको टोली त्यहाँ पुगेको थियो ।

त्यस क्रममा स्थानीयले आफ्ना समस्या राख्दै स्वास्थ्य शिविरको माग गरेका थिए ।स्थानीयको माग बमोजिम १५ नम्बर वडाले मेची नेत्रालय मेचीनगर–६ काँकरभिट्टा र मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाको सहआयोजनामा शिविर सञ्चालन गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरालले अब यो ठाउँलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, विद्युत्, सञ्चारका क्षेत्रमा काम गर्ने विश्वास दिलाए । शिविरमा मेची नेत्रालयका तर्फबाट निःशुल्क आँखा परीक्षणसहित आवश्यक अनुसार चश्मा वितरण गरिएको थियो भने डाक्टर आनन्दराज खनालले हाडजोर्नी तथा नशा रोगीलाई सेवा प्रदान गरेका थिए ।स्वास्थ्यकर्मी दिलीप सुवेदीले समेत सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्थानीय मेची प्राथमिक विद्यालय परिसरमा पहिलो पटक आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयलाई ठुलो राहत मिलेको विद्यालयका प्रधानध्यापक युवराज ढकालको भनाइ छ । आर्थिक अभावकै कारण लामो समयदेखि रोग पालेर घरमा बस्न बाध्य यहाँका मानिसले आज घरमै निःशुल्क स्वास्थ्य परीक्षणमात्र होइन औषधि र चश्मा समेत प्राप्त गर्दा निक्कै खुशी लागेको स्थानीयको भनाइ छ ।
रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौलाले क्लबले आगामी दिनमा समेत यस्तै ठाउँमा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा खुलेरै सहयोग गर्ने बताए ।शिविरमा करिब लाख रुपैयाँ मुल्य बराबरको औषधि तथा पचासभन्दा बढी चश्मा निःशुल्क वितरण गरिएको थियो । क्लबका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा १५ नम्बर वडाका अध्यक्ष गुणराज भट्टराई, स्वास्थ्यकर्मी दिलीप सुवेदीलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.