खेलकुद

मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणमा ७ लाख बढी नाफा

झापा, असोज ११ । गएको बैशाख १२ देखि २१ गतेसम्म काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न मेची नेत्रालय मेचीनगर गोल्डकपको चौँथो संस्करणमा आयोजकलाई सात लाखभन्दा बढी नाफा भएको जनाएको छ ।

प्रतियोगिताको आय व्याय सार्वजनिक गर्न शनिबार काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले कुल ६१ लाख ३५ हजार ५ सय ७५ रुपैयाँ आम्दानी तथा ५४ लाख १९ हजार ४ सय रुपैयाँ विभिन्न शर्षिकमा खर्च भई कुल ७ लाख १६ हजार १ सय ७५ रुपैयाँ नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

आयोजकले तेस्रो संस्करणको घाटालाई पूर्ति गर्दै केही रकम बचत गर्न सकेको छ । तेस्रो संस्करणमा भएको घाटा ६ लाख ५२ हजार रुपैयाँ लाई पूर्ति गरी कुल ६४ हजार १ सय ७५ रुपैयाँ बचत गरेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १ नम्बर प्रदेश सरकार, मेचीनगर नगरपालिका राष्ट्रिय खेलकुद परिषदलगायत विभिन्न संघ संस्थाबाट अपेक्षा गरे भन्दा आर्थिक सहयोग भएका कारण यो पटकको प्रतियोगिता नाफामा गएको बताएका छन् । तर, आयोजकले गेट टिकटबाट अपेक्षा अनुसार रकम संकलन नभएका कारण सोचे अनुसार नाफा नभएको जनाएको छ । प्रतियोगितामा गेट टिकटबाट ६ लाख ६७ हजार रुपैयाँ संकलन भएको छ ।

जिल्ला खेलकुद विकास समिति झापाका निवर्तमान अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष वा परोक्षरुपमा सहयोग पुर्याउने विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेत, आयोजक संस्थाका कार्यवहाक अध्यक्ष नवराज ओलीलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कार्यवहाक अध्यक्ष नवराज ओलीको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन नाइट चेस क्लबका महासचिव अशोक राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.