अर्थ संघ \संस्था

एनएमसीको २७ औं बार्षिक साधारण सभा सम्पन्न

झापा, कात्तिक ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को २७ औं बार्षिक साधारण सभा शनिबार धुलाबारीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन् प्रमुख अतिथि पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गरेका थिए ।

प्रमुख अतिथि नेम्बाङ्गले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा सहकारी पनि एक भएको भन्दै नेकपा संसदीय दलका उपनेता समेत रहेका उनले सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताए । साथै उनले एनएमसीले सहकारीको सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात् गरी आफ्ना कार्यहरु अगाडी बढाएका कारण नै उल्लेख्नीय कार्य गर्दै नेपालमा नै उदाहरण बन्न सकेको बताए ।

प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, नगर उपप्रमुख मीना उप्रेती, आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०७५ सालको एसइई परीक्षामा संस्था परिवारमध्येबाट उत्कृष्ट नतिजा प्राप्त गर्ने सामुदायिक र संस्थागत विद्यालयका गरी ४ जना छात्र तथा छात्रालाई पुरस्कृत गरिएको छ ।

छात्रवृत्तिस्वरुप जनही ७ हजार रुपैयाँ नगदराशीसहित पुरस्कृत हुनेहरुमा वीरेन्द्र मावि भद्रपुरका सुरेन्द्र शर्मा, राष्ट्रिय विजय सेकेण्डरी विद्यालय बुद्धशान्तिकी सुप्रभा अर्याल, नवयुग शिक्षा निकेतन मावि कनकाईकी सन्ध्या साह र पारिजात इङ्लिस बोर्डिङ स्कूल मेचीनगरका अर्चन रिजाल छन् ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीद्धारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको खुल्ला सत्रमा स्वागत उपाध्यक्ष भगवती घिमिरे(मैनाली) र सञ्चालन सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले गरेका थिए ।

२६ जना सदस्य संगठीत भएर स्थापना भएको सहकारीको सदस्य संख्या हाल ७५ हजार पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैबीच, सभाको अवसर पारेर एनएमसी स्वास्थ्य समितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ६० जनाभन्दा बढीले रक्तदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.