काठमाडौं, फागुन १३ । कलंकी चोकमा सोमबार राति अस्वाभाविक दुर्घटनामा भएको छ । अनियन्त्रित गतिमा आएको ना ६ ख २८७१ नम्बरको मालबाहक ट्रक ओरालोमा सवारी साधनहरुलाई ठक्कर दिँदै अगाडि बढेको थियो । सो ट्रकले ११ वटा मोटर र मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट चितवन टाँडिका वासिन्दा ३३ वर्षिय शमशेर गुरुङको घटनास्थलमै ज्यान गएको थियो । अर्का एक सवारी चालक मोटरमा च्यापिएका थिए, उनको निकै कठिन तरिकाले उद्दार गरिएको थियो ।
ट्रक चालक पक्राउ परेका छन् । उनी सर्लाहीको बहरथवाका विरेन साह भएको बताइएको छ । चालकले ब्रेक फेल भएर दुर्घटना भएको बताए पनि प्रहरीले यो अविश्वशनीय दुर्घटनाको विस्तृत छानविन गर्ने भएको छ ।
राति साढे सात बजेतिर सो दुर्घटना भएको थियो । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते राजु कार्की थाहा नगरपालिका ८ मकवानपुरका हुन् । बा १३ च १२८४ मा सवार राहुल बुढाथोकी रोल्पा त्रिवेणी गाउँपालिका ७ का हुन् भने जितबहादुर गुरुङ गोरखा आरुघाटका हुन् । मिना तामाङ ट्याक्सीमा सवार थिइन्, उनी नुवाकोटकी हुन् । अर्का घाइते गणेशबहादुर खत्री दोलखा भिमेश्वरका हुन् ।

