समाचार

आकृति राईको बलात्कार पछि हत्या गर्ने रोशन पक्राउ

नरेन इलामेली
इलाम, चैत ६ ।
इलामको सूर्योदय नगरपालिका १३ लक्ष्मीपूरकी १७ बर्षिया आकृति राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २१ बर्षिय रोशन राई रहेको प्रहरीले जनाएको छ ।

आकृतिको मंगलबार हत्या भएको थियो । आकृति स्थानिय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यायनरत थिइन ।उनी मंगलबार करबि साढे नौ बजेको समयमा विद्यालय जान्छु भनेर घरबाट हिँडे पनि बेलुका सम्म घर फर्केर नआएको र बिहीबार उनले पढ्ने विद्यालयमा गई साथीहरुसँग सोधपुछ गर्दा विद्यालयमा नभएको थाहा पाए पछि उनको खोजतलास सुरु भएको थियो ।

खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो करिब साढे एक बजेको समयमा इलामको सूर्योदय नगरपालिका १३ कै पोखरी किराँत टोल स्थित अमलिसो घारीको खाडलमा केही शंंकास्पद बस्तु गाडिएको हुन सक्ने भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली घटना स्थलमा खटिएको थियो ।

घटना स्थलमा खटिएको प्रहरीले घटना स्थलमा खनेर हेर्दा सोही स्थान बस्ने पूर्णबहादुर राईको १७ बर्षिय छोरी आकृति राईको शव फेला पारेको थियो । आकृतिको शब प्लास्टिकको बोरा भित्र हाली अन्दाजी दुई फिटको खाल्डो खनी पुरेको अवस्थामा फेला परेको थियो ।

शव फेला परे पछि अनुसन्धानको क्रममा आकृतिको सोही स्थान बस्ने रोशन राईले बलात्कार पछि हत्या गरेको खुल्न आएकोले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.