झापा, बैशाख ११ । मेचीनगर नगरपालिका वडा नम्वर ८ ले सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालेको छ । मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल र वडा सदस्य सन्तोष मेचेले विहीवार वडाबासीको घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
लकडाउनका बेला अति आवश्यक काम बाहेक आवत जावतमा बन्द हुँदा वडाबासीलाई अहिले दैनिकीमा समस्या परिरहेको छ । त्यसमा पनि एकल महिला, अपाङ्गता भएका र बृद्ध बृद्धालाई झन ठुलो समस्या परिरहेको हुँदा उनिहरुलाई सरकारबाट दिइने सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउन थालिएको वडा अध्यक्ष विकेन्द्र धिमालले बताए ।
विहीवार मात्र एक सय जनाको घर–घरमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा सदस्य सन्तोष मेचेले बताए । उनका अनुसार वडामा बृद्ध भत्ता, एकल महिला, अपाङग र लोपोन्मुखलाई सामाजिक सुरक्षा भत्ता वितरण गरीएको बताए ।
आफ्नै घरमा भत्ता आएपछि वडाबासी पनि दङ्ग छन् । नोकरीमा रहेका छोरा छोरीले घर खर्च पठाउन लकडाउनका कारण असहज बनिरहेका बेला बृद्धबृद्धाले पनि राहत महसुस गरेका छन् ।

