काठमाडौं, जेठ १४ । नेपालमा थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट रौतहटका ३६ जनासहित ११४ जनामा संक्रमण पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ।
मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले रौतहटका ३६ जना, झापाका १७ जना, बाँकेका १६ जना, दाङका १५ जना, सप्तरीका ११ जना, रौतहट र बाराका ७र७ जना, बाग्लुङका ६ जना, रुकुम पूर्वका ३ जना, सिरहाका २ जना र मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
संक्रमितहरु लगातार थपिएसँगै रौतहटका राजपुर र ईशनाथ नगरपालिकामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। गएको आइतबार रौतहटमा २६ जनामा संक्रमण पोजेटिभ देखिएको थियो भने मंगलबार मात्रै २२ जना नयाँ संक्रमित थपिएका थिए।
देशभरका कुल संक्रमितमध्ये हालसम्म १८३ जना उपचारपछि निको भएका छन् भने चार जनाको मृत्यु भएको छ। बुधबार मात्रै २८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
अब देशका विभिन्न अस्पतालको आइसोलेसनमा ६९९ जनाको उपचार भइरहेको छ । कुल संक्रमितमध्ये पुरुषको संख्या ७९६ छ भने ९० जना महिला छन्।

