स्वास्थ्य

झापाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २२ । झापामा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुरका तीन जनामा र कचनकवलका दुई जनामा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा भद्रपुरका ३ जनामा र  कोसी अस्पताल विराटनगरमा कचनकवलका दुई जनामा गरिएको पिसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार कलवलगुडी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा बसेकामध्ये भद्रपुर वडा नम्बर १ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुडीकै क्वारेन्टाइनमा बसेका कचनकवल ६ नम्बर वडाका ४५ वर्षीय पुरुषमा कोरोना भेटिएको उनले बताए । उनीहरू सबै भारतबाट आएका हुन् ।

त्यस्तै कचनकवलमा पनि दुई जनामा कोरोना पुष्टि भएको छ । पथरिया माविको क्वारेन्टाइनमा बसेकाहरूको दोस्रो पटक स्वाब परीक्षण गर्दा दुई जना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् ।

पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रो पटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । त्यसमध्ये दुई जनामा पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको हो । चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । दोस्रो पटकमा दुई जना कोरोना भेटिएको त्यही क्वारेन्टाइनमा बसेकाहरूको पुनः आरटिडी र पिसीआर परीक्षण गरिने उनको भनाई छ । यसअघि कचनकवलमा एक सय जना कोरोना संक्रमण भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published.