अर्थ

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार ऋण

काठमाडौं, भदौं ९ । प्रत्येक नेपालीको टाउकोमा ४७ हजार बढी ऋण पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋण रहेको पुष्टि गरेको छ।

नेपाल राष्ट्र बैंकको उक्त तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको समेत देखाएको छ। नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब पुगेको छ । अघिल्लो आवसम्म यस्तो ऋण १० खर्ब ४७ अर्बमात्रै थियो । उक्त ऋण अघिल्लो आवको भन्दा ३ खर्ब ७१ अर्बले बढी हो । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा ऋणको हिस्सा बढेर ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस्तो हिस्सा ३०.१ प्रतिशत थियो ।

गत आवमा सरकारले लिएको ऋणमध्ये ८ खर्ब ५ अर्ब ८३ करोड वाह्य ऋण हो भने ६ खर्ब १३ अर्ब आन्तरिक ऋण हो । सरकारले लिएको आन्तरिक र वाह्य ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा नेपालीको टाउको ४७ हजारभन्दा बढी ऋणको भार परेको हो । आज भदौ ८ गते केन्द्रीय तथ्यांक विभागअनुसार नेपालको जनसंख्या ३ करोड ६१ हजार ९ सय ९५ जना रहेको छ । नेपालको कुल जनसंख्याले कुल ऋणभारलाई भाग गरेर प्रत्येक नेपालीको ऋणभार निकालिएको हो ।

सरकारले गत आवमा १ खर्ब ९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको छ । अनलाईन नेपाल