काठमाडौं, असोज २३ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादले तेस्रो जित निकालेको छ । किंग्स एलाभेन पञ्जावलाई ६९ रनले हराउदै हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।
हैदरावादले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको पञ्जाव १६ दशमलव ५ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । निकोलस पुरनले ७७ रन बनाउनुबाहेक पञ्जावका अन्य ब्याट्सम्मयानले गतिलो ब्याटिङ गर्न सकेनन् । कप्तान लोकेश राहुल र सिमरन सिंहले समान ११ रन जोडे । हैदरावादका रासिद खानले ३ तथा टि नजराजन र खलिल अहमदले समान २ विकेट लिए । अबिशेक शर्माले एक विकेट हात पारे । मयांक अग्रवाल र ग्लेन म्याक्सवेल रनआउट भए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेट गुमाएर २ सय १ रनको उच्च योगफल तयार पारेको थियो । उसको जितमा जोनी ब्रेष्टोले ९७,कप्तान डेभिड वार्नरले ५२ र केन विलियम्सनले नटआउट २० रन बनाए । पञ्जावका रबी बिस्नोईले ३, अर्सदिप सिंहले २ तथा महम्मद सामीले १ विकेट लिए ।
तेस्रो जितसंगै हैदरावाद तालिकाको तेस्रे स्थानमा उक्लिएको छ । पञ्जावको भने यो पाँचौ हार हो ।
आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स प्रतिस्पर्धामा उत्रनेछन् ।

