झापा, कात्तिक ८ । नेपालीहरूको महान चाड बडा दशैं तथा तिहारमा पहिले पहिले राखिने लिङ्गे पिङ हिजो आज हराउदै गएको छ। केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाड पर्वमा प्रायः गाउँटोल र शहरका खुल्ला ठाँउमा लिङगे पिङ हालिन्थ्यो तर पछिल्लो समय लिङगे पिङको चलन हराउदै गएको छ।


पिङको लुठो बाटेर बाँसको ४ वा ६ ओटा लिङगा गाडेर बनाउने गरिन्थ्यो। दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो तर गाउँ घरका युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो।
‘दशैँका बेला सबै जम्मा भएर सामुहिक लिङगे पिङ खेल्ने, रमाईलो गर्ने परम्परा बिस्तारै हराउँदै गएको मेचीनगर–८ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष सन्तोष मेचेले बताए। विशेष गरि युवा पुस्ताले लिंगे पिङ्ग निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो नदिने गरेको मेचेको भनाई छ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउदछन। त्यसमा पनि यस बर्ष विश्वनै आक्रान्त पार्ने कोरोना भाईरस कोभिड–१९ को संक्रमणले गर्दा प्रशासनले सामुहिक रुपमा गरिने दुर्गा पुजा, लिंगे पिङ्ग निर्माणलगायतका क्रियाकलापहरु नगर्न आग्रह गरेको छ ।
नेपाली युवाहरु रोजगारीको लागि प्रायः जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, युके सँगै खाडी मुलुक मलेसिया, कतार र दुवईलगायतका देश गएका छन् । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ।

पिङ बनाउनको लागि लुठो बाट्न र ४ वा ६ वटा बाँस गाड्न कम्तिमा १०/१२ जना मानिस आवश्यक पर्दछ। गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं र तिहारमा निर्माण गरि खेल्ने लिङगे पिङको प्रचलन बिस्तारै हराउँदै गएको छ।

तन्नेरी, ठिटाठिटीलगायत बालबालिकाहरु सबैले पिङमा खेल्ने प्रचलन थियो तर गाउँशहरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यवसाय र रोजगारमा हुनुले पनि लिङगे पिङको संस्कृति लोप हुदै गएको जानकारहरु बताउछन् ।

