मेचीनगर, पुस ८ । नेपाल लागु औषध पुनर्स्थापना संघले लागु औषधविरुद्ध खेल’ भन्ने नाराका साथ पुनर्स्थापना गृहबीच झापाको मेचीनगर–१० स्थित धुलाबारीमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले बुधबार आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । मेचीनगरको धुलावारीस्थित सनराइज सुधार केन्द्रमा पुस १० र ११ गते सचालन हुने फुटसल प्रतियोगितामा झापाका १८ वटा पुनर्स्थापना केन्द्रको दुव्र्यसनबाट मुक्त युवाहरु सहभागिता रहने कार्यक्रमका संयोजक भीम लुइँटेलले बताए ।

प्रतियोगिताका विजयीलाई शिल्ड र कप प्रदान गरिने नेपाल लागु औषध पुनस्र्थापना संघ झापाका सचिव राजेश गुरुङले जानकारी दिए ।
संघका महासचिव बुद्धि सुब्बाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सनराइज सुधार केन्द्रका सञ्चालक फुर्वा शेर्पाले समाजलाई नसारहित बनाउन अभिभावक, नागरिक समाज र स्थानीय सरकारको सहयोगी भूमिका रहनु पर्ने धारणा व्यक्त गरेका थिए ।
गत वर्ष पनि यो प्रतियोगिता भएको थियो । त्यसबेला धुलावारीको सनराइज सुधार केन्द्रले प्रतियोगिता जितेको थियो ।

