विविध

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

विराटनगर, पुस २० । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेको उनको नाम गोप्य राखिएको छ । उनको परिचय खुलेपछि बलात्कृत किशोरीको पनि परिचय खुल्ने भएपछि प्रहरीले उनको परिचय गोप्य राखेको हो ।

बलात्कारबाट बसेको गर्भ रहेपछि त्यही गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए। तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज पुगेको थिए ।

अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।