खेलकुद

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं, पुस २० । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित आत्मसात गरेको हो । खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा फेड्रिकोले गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो । खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रता दिलाए ।

९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई ३–१ को स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई ४–१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले १४ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । उडिनेजे १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।