विचार

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ: पूर्वन्यायाधीश गिरीशचन्द्र लाल

काठमाडौं, पुस २२ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले संसद पुनर्स्थापनामा हुने बताएका छन्। जनता समाजवादी पार्टीले गरेको अन्तरक्रियामा पूर्वन्यायाधीश लालले संविधानको व्याख्या गर्दा सर्वोच्चले संसदको पुनर्स्थापना गर्नैपर्ने बताए।

उनले संसद पुनर्स्थापनामा ढुक्क रहन आग्रह गरे। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धारा उल्लेख गरेकाले राजनैतिक मुद्दामात्रै भन्न नमिल्ने बताए। अदालतले पुनर्स्थापनाको विरुद्धमा फैसला दिनेमा आफूमा संशय नरहेको लालले बताए।

‘प्रतिनिधि सभाबाट प्रधानमन्त्रीलाई कुनै समस्या थिएन। सबै कानुन बहुमतले पारित हुन्थे। कुनै प्रकारको बाधा थिएन‚’ लालले भने, ‘विपक्ष दलबाट संसदमा समस्या थिएन। संसदमा समस्या थिएन भने दलभित्रको विवादले संसद विघटन गर्न नपाइने अदालतले बुझ्छ।’