समाचार

आगलागी हुँदा झापामा एकको मृत्यु

झापा, पुस २८ । आगलागी हुँदा झापामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।

साँझ साढे ७ बजेतिर शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगो लाग्दा घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लाग्दा छाप्रो समेत पूर्ण रूपमा जलेको स्थानियले बताए ।

आगोमा एक तोला सुन, १० तोला चाँदी, नगद तीन लाख रुपैयाँ, लत्ताकपडा, भाँडाबर्तनलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।