मेचीनगर, माघ १ । मगर समुदायको प्रम्ख पर्व मकर सकराँती बिहीबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाल मगर संघ प्रारम्भिक समिति काँकरभिट्टाले पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा विविध कार्यक्रमका साथ सो पर्व मनाएको हो ।
गुम्बा परिसरमा पर्व विशेष शुभकामना आदान प्रदान तथा मगरात साँस्कृतिक कार्यक्रम गरिएको संघका मेचीनगर सल्लाहकार कृष्ण सिञ्जाली मगरले बताए ।
संघका जिल्ला सदस्य गम्भीरध्वज थापा मगरको प्रमुख आतिथ्य एवँ मेचीनगर अध्यक्ष विकास थापा मगरको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।
सो अवसरमा संघका नगर सल्लाहकार सुन्दरबहादुर राना मगर, गुम्बाका अध्यक्ष धनबहादुर राना मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेचीनगर–८ स्थित गुम्बा परिसरमा आयोजित कार्यक्रममा मगर समुदायको जातिय पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
त्यस्तै, मगर समुदायका बालबालिकाहरुले मनोरञ्जनात्मक विभिन्न कार्यक्रम प्रस्तुत गरेका र प्रतियोगितात्मक विविध खेलमा उत्कृष्ट हुनेहरुलाई नगदसहित पुरस्कृत गरिएको छ ।
आयोजक समितिका अध्यक्ष रुपेश राना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत सचिव लक्षु थापा मगर र सञ्चालन सदस्य राकेश थापा मगरले गरेका थिए ।

