मेचीनगर, माघ २ । मेचीनगर–६ स्थित काँकरभिट्टामा तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट शुक्रबार आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेचीनगर–६ का वडा अध्यक्ष ललित बहादुर तामाङले गरेका थिए ।
मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्ट पहिलो र दोस्रो संस्करण सफलता पुर्वक सम्पन्न गरिसकेको आयोजक ब्ल्याक एड पुल एण्ड क्याफे मेचीनगरले तेस्रो संस्करण आजबाट सुरु गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भाष्कर आचार्य र सुभास तामाङले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि मेचीनगर–६ का वडा अध्यक्ष तामाङ, छड्के अनुशन्धानका प्रकाशक बालकृष्ण थापा, जिल्ला खेलकुद विकास समिति झापाका पूर्व अध्यक्ष शंकर थापा, जिल्ला फुटबल संघ झापाका महासचिव सेरबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी ईन्द्र खरेल, सोमनाथ कडेललगायतको आतिथ्यता रहेको थियो ।
माघ ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका ३२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजकका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) ले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगदराशी १२ हजार ५ सय, द्धितीयले ६ हजार ५ सय र तृतीयले ३ हजार २ सय रुपैयाँसहित ट्रफी पाउने छन् ।
प्रतियोगितामा पूर्व खेलाडीहरु दावा गोम्देन तामाङ, हरि केसी, पासाङ शेर्पा र सचिन श्रेष्ठ मार्करका रुपमा रहनेछन् ।
आयोजक ब्ल्याक एड पुल एण्ड क्याफे मेचीनगरका सञ्चालक निमा वाङगेल तामाङ (राजु)को अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत नाईट चेस क्लब काकँरभिट्टाका सचिव राजु पौडेल र सञ्चालन झापा जिल्ला फुटबल संघका सदस्य कर्ण थापामगरले गरेका थिए ।

