मेचीनगर, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले सुन्योजित तरिकाले पार्टी फुटाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले भने ओलीले पार्टीको विधान र मर्यादालाई कुल्चेर एकलौटी आफुखुशी मनपरी गरेपछि अहिलेको अवस्था सृर्जना भएको बताए । पार्टी एकता र त्यसबखत भएका सहमती र सम्झौता भुल्दै ओली सत्ताको अतृप्त भोगमा लिप्त भए । जसका कारण देश र जनतालाई नै ठुलो क्षती गर्यो ।
नेकपा प्रचण्ड–नेपाल पक्ष मेचीनगरले झापाको मेचीनगर–१० स्थित धुलाबारीको पासाङ ल्हामु भवनमा आयोजना गरेको मेचीनगर स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता पाण्डेले केपी ओली नेतृत्व असक्षम गैर जिम्मेवार भएको भन्दै यसको विलय छिटो हुने बताए । साथै अहिलेको ओली नेतृत्व सरकारले देश र नेपालीे जनताको समृद्धि सम्भव नरहेको बताए ।

नेकपाभित्र देखिएको अन्तरविरोधले पार्टी तथा जनसंगठन प्रभावित भइरहेको बेला पार्टीका केन्द्रीय सदस्य राम कार्की (पार्थ) ले मेचीनगरका नेता तथा कार्यकर्ताहरु लाई जहिले पनि सत्यको जित हुने भन्दै अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने ओलीले घुँडा नटेकेसम्म संविधान र लोकतन्त्रको रक्षा नहुने बताउँदै यसको रक्षाका लागि निरन्तर लागि पर्न सबैलाई आग्रह गरे । ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनको पराजित निश्तिच रहेको पनि कार्कीले बताए ।
बिरोध सभासहित र्यालिमा उल्लेख्य जनसहभागिता देखिएको थियो । यस अघि प्रचण्ड–नेपाल समूह झापाको नेता गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली नेकपा ओली पक्षमा गएपछि कार्यकर्ता कता जान्छन् भन्ने अन्योल थियो तर मेचीनगरका कार्यकर्ता प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा सडकमा उत्रेका हुन् ।

केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको झापा संघर्ष समितिका संयोजक तथा पार्टीका केन्द्रीय समिति सदस्य रविन कोइरालाले बताए ।
नेकपा प्रचण्ड–नेपाल पक्ष मेचीनगरको आयोजनामा भएको बिरोध सभामा नेकपा जिल्ला कमिटि सचिवालय सदस्य तथा भद्रपुर नगरपालिका उपप्रमुख चन्दा श्रेष्ठ, अनेरास्ववियू झापा जिल्ला सहसंयोजक दुर्गा धमलालगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्ले, जिल्ला कमिटि सदस्यहरु अर्जुन पौडेल, सन्तोष आचार्य, शंकर थापा, लालबहादुर थामी, संविधान सभा सदस्य चन्द्रलाल मेचे, अनेरास्ववियू झापा संयोजक अनिल सुवेदीलगायको आतिथ्यता रहेको थियो ।
१ नं. प्रदेश कमिटि सदस्य तथा क्षेत्रिय ईन्चार्ज श्याम बिर लिम्बुको अध्यक्षतामा आयोजना भएको बिरोध सभामा स्वागत राष्ट्रिय युवासंघ नेपालका जिल्ला कमिटि सदस्य राजु धिमाल र सञ्चालन नेकपा जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले गरेका थिए ।




