मेचीनगर, फागुन १२ । भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ ।
नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाको समन्वयमा उद्दार गरिएका ती बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।
उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ का थोपगेल थामी, झापा शरणामति–९ का रोहन भट्टराई, शरणामति–९ का मनिक दुलाल, इलाम सूर्योदय नगरपालिका–३ की दिक्षिना तामाङ, सन्दकपुर गाउँपालिका–५ की अनुषा गुरुङ राई, सूर्योदय नगरपालिका–४ की पूजा प्रधान र झापा मेचीनगर–५ का समिर सुब्बा छन् ।
करिब २ महिनाको अवधिमा उद्दार गरिएका बालबालिकाहरु ५ देखि १८ वर्ष उमेर समूहका रहेका विश्व सेवा विस्तार संस्था भारतका प्रतिनिधि गणेश राईले जानकारी दिए ।
उनका अनुसार कम्तिमा ३ महिनाअघि र बढीमा ३ वर्षअघिदेखि घरबाट सम्पर्कविहीन भएका बालबालिकाहरुलाई उद्दारपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको हो ।
नेपाली महावाणिज्य दूतावास कलकत्ताका कार्यालय सचिव सतिस थापा, विश्व सेवा विस्तार संस्था भारतका प्रतिनिधि गणेश राई, विश्व सेवा विस्तार संस्था काँकरभिट्टाका जनसम्पर्क अधिकारी अनिता गुरागाईं, सिनियर बोर्डर स्टाफ प्रमिला दुराल, बाेडर स्टाप इन्द्र बहादुर बस्नेत लगायत सस्था परिवारकाे प्रयासमा उद्दार गरी ल्याइएका बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छन् ।

