स्वास्थ्य

प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । उनि झापा स्थित विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न आज झापा आउने भएका हुन् ।

एक वर्षअघि निर्माण सम्पन्न भई अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रमम रहेको अस्पतालका कार्यकारी निर्दशक दुर्गा प्रसाईंले जानकारी दिए ।

उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने निर्दशक प्रसाईंले जानकारी दिए । भारतकी प्रसिद्ध नायिका सोनाली बेन्द्रेलाई समेत निम्तो पठाइएको उनले बताए।

कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।

मंगलबार आज बिहान १० बजेको यती एयरलायन्समार्फत प्रधानमन्त्री ओली काठमाडौँबाट भद्रपुर विमानस्थल आउने कार्यक्रम तय भएको जानकारी दिदै अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले भने कार्यक्रम सकेर अपरान्ह साढे ५ बजे प्रधानमन्त्री ओली काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले आज करिब ७ घण्टा बिएन्डसी हस्पिटलसँगै रहेको क्यान्सर अस्पताल परिसरमा समय बिताउने कार्यक्रमम रहेको जनसम्पर्क अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले अधिकांश समय क्यान्सर अस्पताल र बिएन्डसीलाई दिनेछन् ।

उद्घाटनका अवसरमा काठमाडौँबाट ठुला मिडियाका सम्पादक र स्वास्थ्य विधामा कलम चलाउने करिब ६० जना पत्रकार आउने गिरीले जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा हाल १ सय बेड सञ्चालनमा रहेको छ । ३ सय बेडको स्वीकृति पाएको अूपतालमा संरचना निर्माण भइसकेकाले थप सेवासहित निकट भविष्यमै सञ्चालनको तयारी गरिएको अस्पतालले जनाएको छ ।

छ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको अस्पतालमा क्यान्सरको रडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण जडान गरिएको छ ।