मेचीनगर, फागुन २५ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सोमबार आयोजित कार्यक्रममा दुई फरक विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ ।
महिला जनचेतना केन्द्र र मखमली महिला साकोसले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा धुलाबारी निवासी मिरा काफ्ले पोखरेल र काँकरभिट्टा निवासी रोमा थापालाई सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद राधा थापाले पौरखी महिलातर्फ शिक्षासेवी पोखरेल र उदयीमान खेलाडीतर्फ नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडी थापालाई सम्मान गरेकी हुन् ।
सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि सांसद थापा, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याललगायतले जनही ५ हजार रुपैयाँ नगदराशीसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि थापा, विशिष्ट अतिथि भट्टराई, नेकपा मेचीनगर अध्यक्ष राजु पोखरेल, जनता समाजवादी पार्टी नगर अध्यक्ष ओमप्रकाश खापुङ, वान नेपाल निवर्तमान अध्यक्ष नमूना निरौला, मेचीनगर लेडी जेसीज अध्यक्ष सुशीला खतिवडा, समाजवादी पार्टी महिला संघ केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, त्रिवेणी महिला समूह झापा अध्यक्ष पनिता ढकाल, प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल उद्घोषसहित संस्थाको सभाकक्षमा भएको उक्त कार्यक्रमको औचित्यबारे महिला अधिकारकर्मी एवँ मखमली महिला साकोसकी अध्यक्ष राधा प्रधान कार्कीले प्रकाश पारेकी थिइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष भूवन सुब्बाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत केन्द्रकी सदस्य रेजिना श्रेष्ठ र सञ्चालन केन्द्रकी सचिव सीता गुरुङले गरेकी थिइन् ।

