समाचार

झापामा बस र स्कुटर ठोक्किंदा स्कुटर चालकको मृत्यु

झापा, फागुन २५ । बस र स्कुटर एक आपसमा ठोक्किँदा झापामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देवान स्कुटर चालक हुन् । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको बीएण्डसीमै उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस र विपरित दिशातर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किँदा दुवैजना घाइते भएका थिए ।

स्कुटरलाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।