काठमाडौं, फागुन २७ । स्पेनिस क्लब बार्सिलोना युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
बुधबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको अन्तिम १६ को दोस्रो लेगमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ ले हार्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
पिएसजीले पहिलो लेगको खेलमा बार्सिलोनालाई उसैकाे मैदान क्याप नाेउमा ४–१ गोलको जित निकालेकाे थियो । र, आफ्नो मैदानमा दबाबरहित खेलेकाे पिएसजी बार्सिलोनासँग बराबरीमा रोकिए पनि समग्रमा फराकिलो नतिजासहित अघिल्लो चरणमा स्थान बनाएको हो ।
Image
गए राति घरेलु टोली पिएसजीका लागि किलियन एम्बाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एक गोल फर्काए ।
खेलमा पिएसजीले सुरुआती अग्रता बनाएको थियो । खेलको ३०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका हुन् ।
३७औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए ।
पहिलो हाफको इन्ज्युरी समयमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । जसमा मेस्सी चुक्न पुग्दा बार्सिलोनाले अग्रता बनाउन सकेन । र, दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकियो ।
अघिल्लो लेगमा शानदार जित निकालेका कारण पिएसजी समग्रमा ५–२ को नतिजासहित क्वार्टरफाइनलमा पुग्यो ।

