बाहुण्डाँगी । बदलिँदो परिस्थितीमा व्यवसायबाट कसरी सफल बन्ने भन्ने विषयमा सुरुङ्गा जेसीजले एक दिवसीय ‘रि–ईन्जिनियरिङ बिजनेस’ तालिम सम्पन्न गरेको छ ।
सुरुङ्गा जेसीज एवम् कनकाई उद्योग वाणिज्य संघले संयुक्त रुपमा संचालन गरेको तालिममा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, शैक्षिक तथा विभिन्न वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सभागिता रहेको सुरुङ्गा जेसीजकी तालिम संयोजक विनिता मैनालीले जानकारी दिएकी छन् । जेसीज अन्तर्गत झापाका १५ वटै शाखा साथै जिल्ला बाहिरका शाखाहरुको समेत सहभागिता रहेको तालिममा जेसीजका पदाधिकारीसहित एक सय बढी सहभागीहरु लाभान्वीत भएको बताइएको छ ।

‘रि–ईन्जिनियरिङ बिजनेस’ नाम दिइएको तालिम सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको हो । सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका ओली उप्रेती९उषा० र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीयाको संयुक्त अध्यक्षता रहेको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष उद्योगपति भोलेश्वर दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख प्रशिक्षक राजाबाबु शाह साथै अन्तर्राष्ट्रिय प्रशिक्षक प्रितम गोस्वामीबाट संचालन भएको तालिम कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी उद्योगपति दुलालले व्यवसायबाट कसरी सफल बन्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । पारदर्शिता, धैर्यता र इमान्दारीता भएमा जुनसुकै व्यवसायबाट सफलता प्राप्त गर्न सकिने कुराको जानकारी गराउँदै प्रमुख अतिथी दुलालले कुनै पनि व्यवसायलाई सिस्टममा लान सकेमा व्यवसायीले निराश हुनु नपर्ने प्रष्ट पारेका छन् ।

तालिमबाट व्यवसायको वृद्धिमा थप टेवा पुग्ने विश्वास जगाएको भन्दै सहभागीका तर्फबाट सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, बुधबारे जेसीजका वर्तमान अध्यक्ष अनिल वाग्ले, स्थानीय सुनचाँदी व्यवसायी खेम प्रसाईँ लगायतले तालिम उपलव्धीमूलक भएको बताए ।

तालिम कार्यक्रममा भारतीय प्रशिक्षक विनय शर्मासहितको उपस्थिती रहेको थियो । सुरुङ्गा जेसीजकी कानुनी सल्लाहकार सुस्मा उप्रेतीले आस्थावाचन गरेको उद्घाटन समारोहमा जेसीज मिसन भिजन रिसवसिंह चाहारले प्रस्तुत गरेका थिए । सुरुङ्गा जेसीजकी तालिम संयोजक विनिता मैनालीले स्वागत गरेको उद्घाटन समारोहमा सुरुङ्गा जेसीजकी वर्तमान अध्यक्ष यदुका उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन जेसीजकी महासचिव मेनुका उप्रेती शिवाकोटी९देवका० ले गरेकी थिइन् ।

