मेचीनगर, चैत ६ । झापाको धुलाबारीमा प्रदेश नम्बर १ स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रोलिङ क्लव धुलाबारीको आयोजनामा चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता भोलीदेखि सञ्चालन हुँदैछ ।
चैत ७ गते शनिबार देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए ।
धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं.१० रहेको छ । अन्य रकम खेलप्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिने क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङले बताए ।

