अन्य

आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश

देबु बानियाँ

धुलाबारी चैत, ११ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेड हर्स इलामको रोलिङ च्यालेन्ज कपको फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको छ ।

रोलिङ क्लब धुलावारीको आयोजनामा बुधवार धुलावारी माविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा इलामको अग्रताको नतिजालाई उल्ट्याउँदै आयोजक रोलिङ क्लब फाइनलमा प्रवेश गरेको छ ।

इलामले खेलको ३९ औँ मिनेटमा गोलको खाता खोल्दै टिमललाई अग्रता दिएको थियो । इलामका बिकेश लिम्बूले गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको धुलावारीले दोस्रो हाफको ८ औँ मिनेटमा कोमल खवासले गोल गर्दै खेललाई बराबरीमा पुरयाए । उनले विदेशी खेलाडी पेपेले दिइएको क्रस पासलाई होल्ड गर्दै जाली चुमाएका थिए ।

दोस्रो हामफको १६ औँ मिनेटमा आयोजकका तीर्थ बस्नेतले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । कप्तान पुजन उपरकोटीको पासलाई प्रहार गरेका बस्नेतको बलमा इलामका गोलरक्षक देबराज लिम्बूले मुभको कुनै मौकै पाएनन् ।

यसैगरी खेलको इन्जुरी समयमा आयोजककै कोमल खवासले व्यक्तिगत दोस्रो र टिमलाई तेस्रो गोल गर्दै फाइनल पुग्ने यात्रालाई निश्चित गरेका थिए । पहिलो हाफमा इलामको एक पछि अर्काे बलको सामना गरेको आयोजकले दोस्रो हाफमा लयमा फक्रिएको थियो ।

दुबै टिमबाट दुई दुई जना विदेशी खेलाडी मैदान उतारेका थिए । खेलको म्यान अफ द म्याच आयोजक टिमका कोमल खवास भए । उनले नगद ५ हजार प्राप्त गरे ।

बिहिवारको दोस्रो सेमीफाइनल खेल शिवसताक्षी फुटबल क्लब र धाइजन चारआली फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष नोमेम्बर नेम्बाङले बताए ।

प्रतियोगितामा विजेता टिमले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेता टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । फाइनल खेल शनिवार हुनेछ ।