नवराज सुवेदी
मेचीनगर, चैत १४ । कोरोना महामारी र लकडाउनले आजित बनेका देशका अधिकांश भेगका नागरिकले व्यवसायीक कृिषलाई पछिल्लो समय जिविकोपार्जको प्रमुख स्रोत बनाएका छन् । देशमा बन्दाबन्दीको समय आएपश्चात नागरिकहरु कृिषकर्म तर्फ आकर्षण हुन थालेको चर्चा परिचर्चा अहिले सबैतिर चलिरहेको छ । जसमा झापाको मेचीनगर नगरपालिका पनि अछुतो रहन सकेको छैन । मेचीनगरको उत्तरी ग्रामीण क्षेत्रमा व्यवसायीक कृषिकर्मलाई धेरै मानिसहरुले जिविकोपार्जनको प्रमुख स्रोत नै बनाएका छन् ।
आफ्नो खेतबारीमा कोपि टिप्न व्यस्त देखिनुभएका झापा मेचीनगर ३ स्थित बडाखालका कृषक चेतनाथ गड्तौलाले आफ्नो जिविकोपार्जनको प्रमुख स्रोत नै तरकारी खेति भएको बताउनुहुन्छ । उहाँको बारीमा अहिले कोपि, आलु, टमाटर, बैगुन, खुर्सानी लगायत विभिन्न तरकारीहरु लटरम्म फलेका छन् । उहाँले अहिले दैनिक २ सय किलो सम्म कोपि उत्पादन गरिरहनुभएको छ । तरकारी खेतिसगैँ पशुपालनलाई पनि व्यवसायिकिकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । जसको तयारी स्वरुप उहाँले ५ ६ वटा गाई तथा भैँसी पनि पाल्नुभएको छ ।
आफ्नै बारीमा विभिन्न किसिमका तरकारी उत्पादन गर्नेमा मेचीनगर ३ स्थित मिलिजुलि टोलका कृषक कुमार थापा पनि एक हुनुहुन्छ । उहाँले बारीभरी आलुसगैँ अन्य विभिन्न किसिमका तरकारी पनि फलाउनुभएको छ । अगर््यानिक खेतिलाई प्राथमिकतामा राखेर व्यवसाय गर्ने उहाँलाई बजार र मलको अभावले भने बेला बेला सताइरहन्छ । घर चलाउने मुख्य स्रोत स्वरुप कृषि पेशा अंगाल्नुभएका उहाँले यस सिजनमा मात्रै १ सय मनभन्दा बढी आलु उत्पादन गर्नुभएको छ । तर उत्पादित तरकारीले उचित बजार भने नपाएको उहाँले गुनासो गर्नुभयो । “भारतिय बजारमा १० रुपैँया किलो पाउँछ रे आलु” उहाँले भन्नुभयो “हामीले १० रुपैँया किलो आलु बेच्दा त हाम्रो लगानी पनि उठ्दैन” ।
यस्ता विभिन्न समस्यासगँ संघर्ष गरिरहेका किसानको समस्यालाई बुझेर स्थानीय सरकारले उचित बजारको व्यवस्था गर्नसके कृषिले राम्रै फड्को मार्न सक्ने उहाँको भनाई छ । उत्पादित कृषि उपज बेच्नका लागि बजारको व्यवस्था गरिदिन उहाँले स्थानीय सरकारलाई आग्रह पनि गर्नुभयो ।
नगरमा तरकारी खेति मात्रै नभएर बाख्रा पालन, गाईपालन लगायतका व्यवसाय पनि कृषकहरुले अंगाल्नुभएको छ । २०७१ सालबाट मेचीनगर २ स्थित दिपज्योती टोलमा बाख्रा पालन शुरु गर्नुभएका कृषक बिक्रम कार्कीको बाख्रा पालन व्यवसाय पनि आज जिविकोपार्जनको प्रमुख स्रोत नै बनेको छ । उपहार पाएको र आफ्नो घरमा भएको बाख्राबाट शुरु भएको उहाँको व्यवसायमा अहिले ६० भन्दा बाढी बाख्रा अटाँएका छन् भने कार्की बाख्रा फार्मको नामले उहाँको व्यवसाय परिचित भएको छ । बिहानको समयमा आफ्नो बाख्रा गोठमा बाख्रालाई घाँस र दानाको व्यवस्था गर्न निकै व्यस्त देखिनुभएका कृषक कार्की नेपालमा स्वरोजगार बन्ने अवसरको खाँचो भने नभएको बताउनुहुन्छ ।
यता मेचीनगर २ स्थित बाहुण्डाँगीमा पनि ठुलो गाईफार्म सञ्चालनमा छ । मेचीनगर २ का कृषक केशव सुबेदीले सञ्चालन गर्नुभएको यस गाईफर्ममा दैनिक १ हजार भन्दा धेरै दुध उत्पादन हुने गरेको कृषक सुबेदीले बताउनुभयो । उहाँले गाईफार्मबाटै बार्षिक १० देखि १२ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । तर आम्दानीको मात्रै चर्चा गरिरहँदा व्यवसायमा समस्याको कुरा छोपिन सक्छ । बार्षिक लाखौँ आम्दानी गर्ने उहाँको घाँस लगाउने बेलामा मल अभाव हुने समस्या नौलो समस्या होइन । गाईलाई आहारका लागि घाँस रोप्ने समयमा मल नपाउनु उहाँको प्रमुख समस्या हो । ठुलो मात्रामा व्यवसाय गर्ने कृषकलाई ठुलै मात्रामा मल आवयश्यक हुुन्छ । तर उहाँले सहज रुपमा भने आवयश्यक परिमाणको मल नपाएको बताउनुहुनछ ।
मानिसहरु व्यवसायिक कृषितर्फ आकर्षित भईरहँदा उत्पादित कृषि उपजले बजार नपाएकोमा चिन्तित पनि छन् । कृषिमा लाग्नेहरुलाई समयमा मल उपलब्ध गराउन र उत्पादित कृषि उपजलाई बजारको व्यवस्था गर्न स्थानीय सरकारले पनि विशेष चासो दिनुपर्ने देखिएको छ ।

