मेचीनगर, चैत १४ । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगितामा आज उपाधिका लागि शिवसताक्षी फुटबल क्लब झिलझिले र आयोजक रोलिङ फुटबल क्लब मेचीनगरबीच प्रतिस्पर्धा हुँदैछ ।
धुलाबारी मावीको खेल मैदानमा दिनको ३ः३० बजे देखि हुने फाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लबले शिवसताक्षी फुटबल क्लबको सामना गर्दैछ । आयोजकलाई स्तब्ध पार्दै उपाधि आफ्नो बनाउने दाउमा शिवसताक्षी क्लब मैदान उत्रने छ । सेमीफाइनल खेलमा चारआली धाइजन फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनल प्रवेश गरेको थियो ।
आफ्नै खेल मैदानमा दर्शकको पूर्णसमर्थन पाएको आयोजक उच्च मनोबलका साथ उपाधि आफै राख्ने दाउमा छ । आयोजकले सेमीफाइनलमा रेडहर्स फुटबल क्लब इलामलाई ३–१ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो ।
गत चैत ७ गते गतेदेखि सञ्चालन भएको प्रतियोगितामा एक विभागीय टीमसहित प्रदेश नम्बर १ का ८ वटा क्लबले सहभागिता जनाएका थिए ।
रोलिङ्ग फुटबल क्लब धुलाबारीको आयोजनामा जारी प्रतियोतिगाको उपाधि विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव महेश खड्काले बताए ।

