झापा, बैशाख १९ । कोरोना भाईरस कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आज राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ ।
आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ । निषेधाज्ञा वैशाख २६ गते राति १२ बजे समापन हुने भएको छ ।
सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ ।
निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ ।
जिल्लामा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै आइतबार रातिदेखी एकसाता निषेधाज्ञा लगाउने निणर्य गरेको थियोे ।

