समाचार

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, बैशाख ३१ । पदमुक्त भएको ४ दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका छन् ।

नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएका हुन् ।

वैशाख २७ गते प्रितिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्ननसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । सोही दिन राष्ट्रपतिले बहुमतको संयुक्त सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

तर राष्ट्रपतिले दिएको तीन दिनको समय सीमामा कसैको दाबी नपरेपछि धारा ७६(३)को व्यवस्था बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिएकी हुन् ।

अब ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त नगरे उनी फेरि पदमुक्त हुनेछन् ।