स्वास्थ्य

मेचीनगर ८ वडा कार्यालयद्वारा संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ

मेचीनगर, जेठ १८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् ।

स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे अहिले घर घरमा पुगेर औषधी, खाद्यान्नलगायत सहयोग पुर्याइरहेका छन् ।

वडाले यसैबीच मंगलबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सहयोगमा वडामा रहेका काेराेना संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ गरेको छ ।

वडाध्यक्ष धिमाल, सदस्य मेचे सहित काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजकुमार पराजुली, उपाध्यक्ष गोविन्द गिरी, कार्यालय प्रमुख दिपक पोखरेललगायतको टोलीले आज संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ गरेको हो ।

वडाले थप संक्रमण नफैलाेस भनेर संक्रमित परिवारकाे घरकाे काेठा, आगन, बाथरूमलगायतमा सेनिटाइजिङ गरेकाे छ ।

वडामा अहिले २१ जना संक्रमित रहेका छन् । उनिहरूको घरमा आज सेनिटाइजिङ गरिएको वडाध्यक्ष विकेन्द्र धिमालले बताए ।

काेराेनाकाे महामारीमा जनतामा डर र त्रासमा छट्पटी भएकाे अवस्थामा उनीहरुकाे घरघरमा पुगेर औषधी छर्किदा सान्त्वना मिलेकाे वडासदस्य सन्तोष मेचेले बताए ।