झापा, असार ५ । जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरी खेल्दै अंक बाडेका छन् छ ।
हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।
क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।
तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए । उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।
त्यस्तै शुक्रबार नै भएको तेस्रो खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

