खेलकुद

युरोकप: सेमिफाइनल समीकरण पूरा, यस्तो छ खेल तालिका

काठमाडौं, असार २० । जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको तेस्रो र अन्तिम क्वाटरफाइनलका खेल सकिएसंगै अन्तिम चारको समीकरण पूरा भएको हो ।

क्वाटरफाइनल अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

त्यस्तै शनिबार राति नै भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ ।इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्  । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ  ।

पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्  । दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ  ।

सेमिफाइनलको खेल तालिका :
बुधबार राति १२:४५ बजे – इटाली विरुद्ध स्पेन
बिहीबार राति १२:४५ बजे – डेनमार्क विरुद्ध इंग्ल्यान्ड