मेचीनगर, श्रावण १२ । झापाको मेचीनगर नगरपालिकाले साउन १३ गते बुधबार (भोलि)राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र ‘सिल’ गर्ने निर्णय गरेको छ ।
मंगलबार उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख मीना उप्रेती पोखरेलको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले एक हप्ताको लागि ‘सिल’ गर्ने निर्णय गरेको हो ।

नगरको कोभिड–१९ संक्रमण नियन्त्रण समितिको सिफारिमा आज कार्यपालिकाको बैठक बसेको थियो । सिल अवधिभर अस्पताल, स्वास्थ्य चौकी, औषधि पसल भने बन्द हुने छैनन् । दुग्धजन्य पदार्थ, तरकारी, माछामासु पसल विहान ६ बजेदेखि ८ बजे दुई घण्टा खुल्ला रहने मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम ओझाले बजार दैनिकलाई जानकारी दिए ।

पेट्रोलियम पदार्थ, वरुणयन्त्र, एम्बुलेन्स, शव वाहन, फोहोरमैला व्यवस्थापन, पशुपंक्षीलाई आवश्यक पर्ने आहारा, इन्टरनेट, सञ्चार बाहेकका सवारीसाधन पूर्ण रुपमा रोक लगाइएको छ ।
व्यापार–व्यावसाय, उद्योग कलकारखाना, बैंक, सम्पूर्ण वित्तीय संस्था पूर्णरुपले बन्द हुनेछन् । हाइवे बाहेकका सबै सडकमा आवतजावत बन्द गरिने छ । एक साता भर सरकारी कार्यालयका अत्यावश्यक काम बाहेकका सबै सेवा बन्द हुने छन् ।
त्रिभुवन विश्व विद्यालय तथा अन्य विश्व विद्यालय र शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा स्वास्थय मापदण्ड पुरा गरी तोकिएको केन्द्रबाट सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख ओझाले बताए । हेर्नुहोस् मेचीनगरले जारी गरेको सूचना



