स्वास्थ्य

मेचीनगरमा मंगलबार २ हजार ३६० जनाले भेरोसेल खोप लगाए

मेचीनगर, श्रावण १२ । मेचीनगरमा सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराएको भेरोसेल खोप आजदेखि लगाइएको छ ।

आज पहिलो दिन नै दुई हजारबढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भेरोसिल खोप लगाएको मेचीनगर ४ का वडाध्यक्ष एवम् मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए ।

नगरले ६ वटा खोप केन्द्र मार्फत साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाएको छ । २ हजार ३ सय ६० जनाले खोप लगाएको नगरपालिकाले जनाएको छ ।

सवैभन्दा बढी धुलावारी केन्द्रबाट ६ सय ३७ जनाले खोप लिएका छन् । बाहुनडाँगीबाट ३ सय ७०, काँकरभिट्टाबाट ५ सय ७५, धाइजनबाट २ सय ४८, दुहागढीबाट २ सय ८० र ज्यामिरगढीबाट २ सय ५० जनाले कोभिड १९ विरुद्घको भेरोसिल खोप लिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार मेचीनगरका अहिलेम्म १३ महिला र २७ पुरुषगरी ४० जनाको कोभिड १९ कै कारण ज्यान गएको बताए । नगरको तथ्याङ्ग अनुसार अहिले ३ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । तर, यो संख्या अझ उच्च रहेको अनुमान नगरपालिकाको छ । सवैभन्दा बढी मेचीनगरको १० नम्बर वडामा ८१ जना संक्रमित रहेका छन् ।