खेलकुद

लिभरपुलको सहज जित

काठमाडौं, साउन ३१ । नयाँ सिजनको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकाल्दै सुखद सुरुआत गरेको छ । शनिबार राति लिभरपुलले नर्विच सिटीलाई उसैको मैदानमा ३–० गोलले हराएको हो ।

लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टो फिर्मिनो र मोहम्मद सालाहले एक–एक गोल गरे । खेलको २६औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । 

६५औँ मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ७४औँ मिनेटमा सालाहले गोल गरेपछि लिभरपुल ३–० गोलले विजयी बन्यो । उक्त गोलसँगै सालाहले नयाँ कीर्तिमान पनि बनाए । सालाहले लगातार पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।