काठमाडाैं, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टी प्रवक्ताको जिम्मेबारी योगेशकुमार भट्टराईलाई दिएको छ ।
बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई प्रवक्ताको जिम्मेबारी दिइएको बताए ।
तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि ओलीको आलोचना गरेका भट्टराईलाई त्यतिबेला प्रधानमन्त्री ओलीले ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । आज तीनै ‘बैगुनी केटो’लाई पुन:प्रवक्ताको जिम्मा दिएपछि सामाजिक संजालहरुमा एमाले प्रवक्तामा ‘बैगुनी केटो’ जस्ता ट्रोलहरु आइरहेका छन् ।
अध्यक्ष ओलीबाट लगभग ८ महिना टाढा रहेका भट्टराई पछिल्लो समय माधवकुमार नेपाल पक्षमा रहेका थिए । तर, पार्टी एकताका लागि आफूहरु संघर्ष गर्ने भन्दै पुन:ओली पक्षमा फर्किएका भट्टराईलाई ओलीले प्रवक्ताको जिम्मेबारीबाट स्वागत गरेका हुन्।
त्यसो त मंगलबार च्यासलमा बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेपछि उनी एमालेमै फर्किएको बुझिएको छ।
भट्टराईले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म पनि उनी पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए ।

