स्वास्थ्य

इलाममा कोरोनाका कारण थप तीन जनाको मृत्यु

नरेन इलामेली इलाम, भदौ ९ । इलाममा कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुधबार ज्यान गुमाउनेहरुमा माइजोगमाई गाउँपालिका वडा नं ३ की वडा सदस्य ४८ बर्षिय महिला, इलाम नगरपालिकाका ६० बर्षिय पुरुष र ६० बर्षिय महिला  रहेका छन् ।

बुधबार तीन जनाले ज्यान गुमाए सँगै जिल्लामा कोरोनाका कारण ज्यान  गुमाउनेको संख्या एक सय एघार पुगेको छ ।

जिल्लामा संक्रमितको  संख्या पाँच हजार नजिक पुग्यो

 जिल्लामा हाल सम्म संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ । बुधबार जिल्लाका ६७ जनामा संक्रमण पुष्टी भएसँगै  जिल्लामा कुल संक्रमितको संख्या चार हजार नौ सय ६३ पुगेको छ ।

जस मध्ये जिल्लाको इलाम नगरपालिकामा एक हजार ६ सय २ जना, सूर्योदय नगरपालिकामा नौ सय २४ जना, माइ नगरपालिकामा चार सय ९२ जना र देउमाई नगरपालिकामा तीन सय १३ जना संक्रमित रहेका छन् । त्यसतै  जिल्लाको रोङ गाउँपालिकामा चार सय ९५ जना,माङसेबुङ गाउँपालिकामा दुई सय ८५ जना, माइजोगमाई गाउँपालिकामा दुई सय ७७ जना, सन्दकपुर गाउँपालिकामा एक सय ९५ जना, चुलाचुली गाउँपालिकामा एक सय ९२ जना र फाकफोकथुम गाउँपालिकामा एक सय ८८ जना रहेका छन् । संक्रमित मध्ये दुई हजार दुई सय ६९ जना महिला र दुई हजार  छ  सय ९४ जना पुरुष रहेका छन् ।  

संक्रमण देखिएका मध्ये तीन हजार नौ सय ९५ जना उपचार पछि घर फर्किएका छन् भने आठ सय ५७ जना उपचाररत रहेका छन् ।