राजनीति

राप्रपाद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

मेचीनगर, भदौ २८ । राप्रपा मेचीनगर समितिले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिको अगुवाईमा प्रदर्शनकारीले एमसीसी विरुद्ध काँकरभिट्टामा विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, महिला संगठन र राष्ट्रियवादी समाज नेपाल केन्द्रिय कार्यालय झापाले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दवाव दिने उद्देश्यले काँकरभिट्टामा विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको पुत्ला जलाएपछि प्रहरीले निभाउने प्रयास गरेको थियो ।

राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी नेपालको हितमा छैन, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन लगायतका नारासहित काँकरभिट्टा स्थित भट्टराई चोकबाट दिउसो निस्केको र्याली बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति अध्यक्ष सविना बजगाई, बिर्तामाड अध्यक्ष रञ्जु प्याकुरेल, गिरिराजमणि पौडेल लगायतका वक्ताहरुले चर्को स्वारमा विरोध गरेका थिए ।