राजनीति

पिलो निचारिँदैमा वजन घटेको हुन्न: अध्यक्ष ओली

झापा, भदौ २९ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र दलिय व्यवस्था विरूद्ध एमाले फुटाउनका लागि नै अध्यादेश ल्याएको बताएका छन् ।

अग्रज कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृह जिल्ला झापा आइपुगेका अध्यक्ष ओलीले अध्यादेश ल्याउन सभामुख समेतको संलग्नता रहेकाे कारण सभामुख सड्यन्त्रका मतियार भएको र गैर सांसदहरूलाई संसदमा राखेका कारण एमालेले संसद अवरोध गरेको बताए ।

साथै उनले एमाले फुटेको नभई माधवकुमार नेपाल चोइटिएर गएको बताए । पिलो निचारिँदैमा वजन घटेको हुन्न उनले भने, ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो ।’

नेपालको पार्टी नक्कली भएको बताउदै यो निजी स्वार्थका कारण लामो समय नटिक्ने बताए । साथै उनले नेपालले नयाँ पार्टीबाट वडा सदस्य समेत नजित्ने बताए ।

नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजनामा आयोजित कार्यक्रममा पूर्व महा न्यायधिवक्ता अग्नि खरेल, केन्द्रिय सदस्य रविन कोइराला, हिक्मत कार्की, भास्कर काफ्ले, प्रेम गिरी, बसन्त बानियाँल, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, सोम पोर्तेलगायत प्रदेश तथा जिल्ला स्तारका नेता तथा जिल्लाका १५ वटै स्थानीय तहबाट उल्लेखनीय कार्यकर्ताहरूको सहभागी रहेको थियो ।