समाचार

सत्ता गठबन्धनः मन्त्रालयको भागबन्डा मिल्यो, कुन मन्त्रालय कसलाई ?

काठमाडौं । ठूलो रस्साकस्सीपछि सत्ता गठबन्धनमा मन्त्रालय बाडफाँडको सहमति भएको छ। मंगलबार विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबन्डा मिलाएका हुन्।

दलहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा ९एस० र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ। सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउनेछन्।

दलहरु अहिले मन्त्री छनौटको आन्तरिक गृहकार्यमा जुटेका छन्। बुधबारसम्म मन्त्रीको नाम टुंगो लगाउने र विहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताइएको छ।

गठबन्धनमा भागबण्डाको विषय मिलाउन बनेको कार्यदलको सिफारिस बमोजिम नेताहरुले सहमति जुटाएका हुन्। यो नै मन्त्रालय भागबन्डाको अन्तिम निष्कर्ष भएको एक नेताले दाबी गरेका छन्। कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ।

त्यस्तै, माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय लिनेछ। जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउनेछ। नेकपा ९एस०ले कानुन, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाएको छ।

हाल कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन्।