संघ \संस्था

गैँडाकोट जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी ।गैँडाकोट जेसिजको सप्ताहिक कार्यक्रम अन्र्तगत आज अन्तिम दिन विचार गोष्ठी कार्यक्रम गरिएको छ । ‘समाजका लागी युवाको आवाज’ भन्ने शिर्षकमा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले समाजमा युवा नेतृत्व बढाउनका लागि उनीहरुको क्षमता विकासमा संस्थाले काम गर्ने बताउनुभयो । गैँडाकोट जेसिजका अध्यक्ष दया सापकोटाले युवाले भाषण नभई अवसरको खोजी गरिरहेको बताउनुभएको छ । विकासका काममा युवा सहभागीता बढाउन जेसिजले काम गर्ने सापकोटाले बताउनुभयो ।

नेपाल जेसिजका पूर्व उपाध्यक्ष रमेश काफ्लेले युवालाई उमेर भन्दा पनि आँट, जोश, जाँगर र सिर्जशीलता जस्ता गुणबाट चिन्नुपर्ने बताउनुभयो । सामाजिक आर्थिक विकासमा युवालाई परिचालन गर्दा आफ्नो स्थानीय स्तरको स्रोत र साधनको परिचालन गर्नुपर्ने काफ्लेको भनाई छ ।

युवाको परिभाषामा राज्यले नै विभेद गरेको कलावती आर्टस्का प्रवन्ध निर्देशक भिमप्रसाद शर्माले बताउनुभयो । राष्ट्रिय युवा नीति २०७२ का बिषयमा बोल्दै शर्माले यसलाई सच्याउन युवाले दवाब दिनुपर्ने बताउनुभयो । राज्यले विभेद गरेका कारण पनि नेपालका युवा विदेशीन बाध्य भएको उहाँले बताउनुभयो ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले युवाहरुमा उद्यमशिलताको योजना भए लगानीका लागी लघुवित्तहरु तयार रहेको बताउनुभयो ।

जेसिजको कार्यक्रममा उपस्थित अतिथिहरुलाई कार्यक्रमका संयोजक शंकर अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गैँडाकोट जेसिजका सचिव राजेश पौडेलले गर्नुभएको थियो ।