विविध

झापामा मोटरसाइकल चोरी गर्ने तीनजना समातिए

झापा। झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । 

 पक्राउ पर्नेहरूमा इलाम जिल्ला सूर्योदय नगरपालिका-९ निवासी २१ वर्षीय आशिष् सुब्बा, सोही नगरपालिका- ८ निवासी २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड नगरपालिका- ३ स्थित बिर्ताबजार निवासी २६ वर्षीय रञ्जित राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले उनीहरू साथबाट चोरी गरिएका मे ६ प २५०५ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसीको एफजेट मोटरसाइकल बरामद गरेको छ । 

जिल्लाका विभिन्न स्थानबाट विभिन्न कम्पनीका मोटरसाइकल हराएको वा चोरी भएको सवारीधनिहरुले प्रहरीमा उजुरी दिने बढेको थियो ।  सोही उजुरी र गुनासोको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहको खोजतलास शुरु गरेका थिए । खोजतलास गर्नेमा उनीहरूलाई मङ्सिर १६ गते पक्राउ गर्न सफल भएको डिएसपी पाठकले बताए । 

यता पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान थालेको उनले बताए ।