खेलकुद

रियल म्याड्रिडमाथि पीएसजीको जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।

गएराति भएको खेलमा पीएसजीले स्पेनिस् क्लब रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीले रियल म्याड्रिडलाई लगातार दवावमा राखेपनि गोल लागि अन्तिम समय नै कुर्नु परेको थियो ।

केलियन एमबाप्पेले इन्जुरी समयमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले थप गरिएको चौथो मिनेट अर्थात् ९४औँ मिनेटमा गोल गरेका थिए । उनले नेयमार जुनियरको पासमा गोल गरेका थिए ।

त्यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा चुक्दा पीएसजीले अग्रता लिन सकेको थिएन । ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एमबाप्पेलाई फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, मेस्सीको पेनाल्टीलाई कोर्टुवाले बचाउँदै रियलको खतरा टारेका थिए ।

अब दोस्रो लेगमा रियलको मैदानमा ९ मार्चको राति हुनेछ ।